काठमाडौं, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले रसुवा बाढीपीडितको लागी २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको कम्पनीले जनाएको छ । हालै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी तथा पहिरोका कारण घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाको आवश्यकता देखिएको छ ।
प्राकृतिक विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु तथा राहत र उद्धार कार्यमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पनि आवश्यकता तथा आफ्नो क्षमता र सामथ्र्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।