काठमाडौं । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताएका छन् ।
बिहीबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू विगतमा प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघि सारेको स्पष्ट गरे ।
अध्यक्ष ओलीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताए ।
“नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखेका हौँ । हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पुँजीवादी व्यवस्थाका पक्षमा छैनौँ । समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा छौँ”, अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले नेपाल ज्ञानभूमि र तपोभूमि भएको उल्लेख गर्दै पुर्खाहरुको त्यो ज्ञान र योगदानको जगमा यस उर्बर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी कार्यक्रममा फाउण्डेशनद्वारा स्थापित विभिन्न पुरस्कार प्रदान गरिनुका साथै विशेष जर्नलको लोकार्पण गरिएको थियो ।