काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भागेर दिल्ली पुगेका छन् । पक्राउ पुर्जी जारी हुँदै छ भन्ने सूचना पाएपछि उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन् । बस्न्यात ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेमध्येका एक हुन् । सोही विषयमा छानबिनको लागि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बस्न्यातविरुद्ध गत असार १५ गते पक्राउ पुर्जी जारी भएको थियो भने उनी त्यसको तीन दिनअगाडि अर्थात् असार १२ गते नै दिल्ली गएको पाइएको छ । बस्न्यातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गासम्बन्धी फाइलको टिप्पणी उठाउने र सदर गर्ने गरेका थिए । यसअघि पनि बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता गरे पनि २०७८ वैशाख २४ गते सर्वोच्च अदालतको आदेशमा पाँच लाख धरौटीमा रिहा भएका थिए ।