काठमाडौं,साधारण सेयरको बिक्रीकार्यमा बदनियतपूर्ण काम गरेको भन्दै अनुसन्धानको घेरामा परेको घोराही सिमेन्टले फर्जी ट्रान्सपोर्ट कम्पनीमार्फत ठूलो परिमाणमा भारतमा रकम पठाउने गरेको पुष्टि भएको छ । घोराही सिमेन्टले फर्जी ट्रान्सपोर्ट कम्पनी आशिस ट्रान्सपोर्ट कर्पोरेसनमार्फत भारतमा रकम पठाउने गरेको विभिन्न समयमा काटिएको नक्कली बिलमार्फत पुष्टि भएको हो । कम्पनीले सन् २०१२ मा तीन पटकमा झण्डै एक करोड रुपैयाँ नक्कली ट्रान्सपोर्ट कम्पनीमार्फत भारत पठाएको भेटिएको छ ।
आर्थिक दैनिकलाई प्राप्त भएको केही बिलमा उल्लेख भएअनुसार कम्पनीले सन् २०१२ मा पहिलो पटक ४३ लाख ८१ हजार पाँच सय २३ रुपैयाँ, दोस्रो पटक ३८ लाख सात हजार चार सय ५० रुपैयाँ र तेस्रो पटक २३ लाख ५८ हजार पाँच सय १० रुपैयाँ आशिस ट्रान्सपोर्टमार्फत भारत पठाएको देखिएको छ ।
घोराही सिमेन्टको माउ कम्पनी त्रिवेणी ग्रुपले आफ्नो विभिन्न कारोबारको रकम भुक्तानीको लागि आशिष टे«डिङ नामको फर्जी कम्पनी खडा गरी सोही कम्पनीमार्फत भारतमा पैसा पठाउने गरेको हो ।
त्रिवेणी ग्रुपअन्तर्गतकै अमृत टे«डिङ कम्पनीले पनि फर्जी बिलमार्फत भारतमा सामान पठाउने गरेको आरोप पनि उक्त स्रोतले लगाएको छ । त्रिवेणी ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरुले कारोबार गर्दा भ्याट बिलहरुको प्रयोग नगरी सबै एक्सेल बिलमार्फत मात्र कारोबार गर्नेगरेको दाबी पनि स्रोेतको छ । स्रोतका अनुसार नक्कली र फर्जी बिलमार्फत हुने सबै अवैधानिक कारोबारको व्यवस्थापन गर्नको लागि पुरुषोत्तमलाल संघाई भारतमा बस्ने गरेको र यी सबैको व्यवस्थापन उनी आफैँलै गर्नेगरेको दाबी पनि स्रोतले गरेको छ ।
नेपालको हकमा भने त्रिवेणी ग्रुपअन्तर्गतका जति पनि कम्पनीहरु रहेका छन, ती सबैमार्फत हुने फर्जी कारोबारको जिम्मा सञ्जय बंसलले लिएको र उनैले ती कारोबार हेर्ने गरेको दाबी पनि स्रोतले गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गतको घोराही सिमेन्टले अहिले महँगो मूल्यमा साधारण सेयर जारी गर्नुको भित्री कारण पनि आईपीओ बेचेर बैंकको ऋण चुक्ता गर्नु रहेको देखिन्छ ।
स्रोतका अनुसार त्रिवेणी ग्रुपअन्तर्गत रहेका कुनै पनि संस्थाहरुको ट्याक्स अडिट, लेजर अडिट पनि छैन । त्रिवेणी ग्रुपको हाल नेपालमा उत्पादन, ऊर्जा, बैंक तथा वित्तीय संस्था, सेवालगायतका क्षेत्रमा झण्डै तीन दर्जन कम्पनीहरु सञ्चालनमा छन् । यो समूहले नेपालमा सगरमाथा सिमेन्ट, त्रिवेणी स्पेनिङ मिल्स, सगरमाथा रेडिमिक्स, विश्वकर्मा सिमेन्ट, त्रिवेण फिड इन्डस्ट्रिज, हिमाल ग्यास, अमृत तेल, गोर्खा सिमेन्ट, रिलायन्स सुगर मिल्स, एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, टोकला टी, बबल्स लाउन्ड्री सप, एकता लुगाधुने साबुन आदिको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।
बोर्डले देखायो कैफियत, छानबिनको जिम्मा प्रहरीलाई
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयरको बिक्री प्रकरणमा भएको अनियमिताको विषयमा छानबिन गर्न नेपाल प्रहरीलाई जिम्मा दिने निर्णय गरेको छ । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सर्वसाधारणको लागि जेठ ३२ गतेदेखि असार ४ गतेसम्म प्रिमियम मूल्यमा घोराही सिमेन्टको साधारण सेयरको बिक्री आह्वान गरेका थिए । तर, त्यसमा कैफियत देखिएपछि छानबिनको लागि भन्दै बोर्डले असार ४ गते उक्त कम्पनीको साधारण सेयरको बिक्रीकार्य तत्कालको लागि स्थगन गरेको थियो ।
बुधबार पहिलो पटक घोराही सिमेन्टको बारेमा आधिकारिक निर्णय सार्वजनिक गर्दै बोर्डले उक्त प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीलाई दिने जनाएको छ । केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविकरुपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचाररुहरुसँग कुनै सम्बन्ध नदेखिएकोे तर, उल्लिखित आवेदकहरुले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरीसमक्ष थप छानबिनको लागि सिफारिस गर्ने निर्णय भएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताएका छन् ।
यस्तै, निष्काशन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्ने सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत छानबिन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । आस्वा सदस्य एनआईसी एसिया बैंकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के–कसरी आवेदनहरु स्वीकृत भएको हो, सो सम्बन्धमा समेत छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने निर्णय बोर्डले गरेको छ । सार्वजनिक निष्काशनमा निवेदन दिने आवेदक (लगानीकर्ता), आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धकको कामकारबाही सेयर निष्काशनकर्ता कम्पनीको कामकारबाहीभन्दा भिन्न रहेको र आवेदक लगानीकर्ताहरुको निष्काशनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको अवस्थामा कम्पनीको सार्वजनिक निष्काशन स्थगित भएको कारणबाट सर्वसाधारणको करिब तीन अर्ब ६१ करोड रुपैयाँ होल्ड भएको र उक्त रकम छिट्टै नै खुला गरिने जानकारी पनि बोर्डले दिएको छ ।
बोर्डले आईपीओ विवादमा छानबिन जारी राख्दै निष्काशन खुला गरिने जनाएको छ । लगानीकर्ताको रकम बन्धक नबनाउने उद्देश्यले निष्काशन खुला गर्ने बाटो खोल्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जनाएका छन् । आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय गरेको छ । थप गरिएको तीन दिनको अवधिभित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा २०८० जेठ ३२ गतेदेखि असार ४ गतेसम्म पाँच दिन निष्काशन तथा बिक्री खुला भइसकेकोले संशोधनका लागि थप गरिएको तीन दिनको समयपछि पनि थप सात दिन निष्काशन खुला राख्न दिने निर्णय बोर्डले गरेको छ ।
http://घोराही सिमेन्टको सेयरमा लगानीकर्ता फस्ने जोखिम