चन्द्रपुर । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले यस वर्ष रासायनिक मलको अभाव नहुने जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो । लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार स्थानीय तहको सिफारिसमा मल वितरण गर्दै आएको छ ।
जिल्लाका १८ स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको लिमिटेडले जनाएको छ । प्रदेश सरकारले जिल्लागत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारअनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने गरेको छ ।
स्थानीय तहले कोटा निर्धारण गरे पनि मागअनुसारको मल नपाएको विन्दवासिनी कृषि सहकारी संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले बताए । उनका अनुसार चन्द्रपुर वडा नम्बर पाँचका लागि तीन हजार युरिया र डिएपी माग गरिएको हो । लिमिटेडबाट भने चार सय पाँच बोरा युरिया र दुई सय ५० बोरा डिएपी पाएको उनको भनाइ छ । डिलरले माग गरेअनुसारको रासयानिक मल पाउन नसकेको उनको गुनासो छ ।
लिमिटेडको चन्द्रनिगाहपुरमा एक सय ७४ डिलर छन् । एक सय ५० भन्दा बढीले रासायनिक मल लगिसकेको लिमिटेडका निमित्त प्रमुख गोपालप्रसाद घिमिरेले बताए । कृषि सामग्रीको खरिद मूल्य प्रतिबोरा युरिया मलको आठ सय पाँच र डिएपीको दुई हजार दुई सय ५५ रुपैयाँ छ भने स्थानीय तहअनुसार बिक्री मूल्य निर्धारण हुने निमित्त कार्यालय प्रमुख घिमिरले जानकारी दिए ।
हालसम्म ७३।१ सय मेट्रिकटन युरिया र ४८।९ सय मेट्रिकटन डिएपी मल बिक्री गरिसकिएको उनले जानकारी दिए । जिल्लामा ५३ हजार पाँच सय ४६ दशमलव ३८ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।
रासायनिक मल वितरण निर्देशिका अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहने गर्छ । सो समितिमा प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहन्छन् । सो समितिले बिक्री मूल्य निर्धाण, डिलर सिफारिस, बाँडफाँट गर्ने, सुपरीवेक्षण र निरीक्षण र कारबाही गरी खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।