महेन्द्र शाही
सोलुखुम्बु,बैशाख १४
सोलुखुम्बुमा प्रदेश १ सरकारवाट विभिन्न योजनामा २० करोड रकमको काम हुने क्रममा रहेको छ । स्थानीयको माग बमोजिम प्रदेश १ सरकारसँग समन्वय गरी प्रदेश सांसदहरूले सो रकमको बजेट बिनियोजनमा भूमिका खेलेका हुन् । २० करोडबराबरको कामका लागि सबै योजना ठेक्का प्रक्रियामा रहेको छ ।
सोलुदुधकुण्ड नगरपालिका ८ केरुङको बाघखोर सिसाखोला मेराङ्दिङ हुँदै सल्लेरी च्याल्सा विद्युत् कम्पनीको पावर हाउससम्मको सडक स्तरेन्नतिका लागि ५ करोड रकमको बहुवर्षे ठेक्का खुलेको छ । यसअघि रातो किताबमा एक करोड रकम रहेकोमा चार करोड थप गरिएको सोलुखुम्बु क्षेत्र नम्बर ‘ख’का सदस्य एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
यस्तै सल्लेरी, सिलगुडी, डाँडा, महभिर, काँकु, बासा, ठूल्ढुङ्गा, अँधेरी हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका सडक स्तरोन्नतिका लागि पनि रातो किताबमा भएका एक करोड रकममा ४ करोड थप गरी ठेक्का प्रक्रियामा रहेको बताइएको छ । नेलेवाट थुलुङ दुधकोशी गाउँपालिका कार्यालय जाने सडक स्तरोन्नतिका लागि रातो किताबमा रहेको दुई करोड रकममा तीन करोड रकम थप गरी पाँच करोड रकमको ठेक्का प्रक्रियामा रहेको सांसद राजभण्डारीले जानकारी दिए ।
यता सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लादेखि सल्यानको महेन्द्रोद्वय माध्यमिक विद्यालय हुँदै नेचासल्यान वडा नम्बर ५ विहीबारे सडक स्तरोन्नतिका लागि पाँच करोड रकमको ठेक्का प्रक्रियामा रहेको बताइएको छ । यस योजनाका लागि पनि सुरुमा रातो किताबमा दुई करोड रकम रहेकोमा तीन करोड थप गरी पाँच करोड बनाइएको छ ।
सडक स्तरोन्नतिका यी सबै योजनाहरू बहु वर्षे योजना रहेको प्रदेश १ सरकारको कार्यालयले जनाएको छ । सुरुवातमा रातो किताबमा सम्बन्धित योजनाका लागि कुल छ करोड रकम बिनियोजन भएकोमा प्रदेश १ सरकारसँग आवश्यक समन्वय गरी १४ करोड रकम थप गर्न सफल भएको सांसद राजभण्डारीको भनाइ छ ।
जिल्लाको विकासका लागि आफ्नो पहल जारी रहेकको भन्दै उनले रकम ल्याउन सफल भएको बताए । यो रकमले जिल्लाको विकासमा ठूलो सहयोग पु¥याउने उनले दाबी गरे । यो रकमको सदुपयोग गर्नु पर्नेमा पनि उनले जोड दिएका छन् । यसमा स्थानीयले पनि खबरदारी गर्नुपर्ने बताए ।