कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा कर्णाली प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
वि.सं. २०७९ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।
कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्तिअर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ । बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा सोमबार कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ ।
हरेक महिनाको १ गते र १५ गते वीरेन्द्रनगरमा देउडा खेल्ने सांस्कृतिक प्रचलन रहिआएको छ । यहाँस्थित घण्टाघर नजिक सोमबार साँझ ७ बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले बताए ।