काठमाडौं । चिनियाँ अर्थमन्त्री लिउ कुन र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।
दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा सो वार्तामा कुराकानी भएको मन्त्री डा. महतले बताए । वार्तामा उनीहरूबीच आपसी हितका विविधि विषयका साथै सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि छलफल भएको थियो ।
वार्ताका क्रममा चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासका क्षेत्रमा चीन सदैव सहयोगी हुन चाहेको उल्लेख गर्दै दुई देशबीचका सहयोग परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए ।
चीनले नेपालको विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि मन्त्री डा. महतले धन्यवाद व्यक्त गरेका थिए । सन् २०१९ मा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणका क्रममा उनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजनाहरू समयमा अघि बढ्न नसकेकामा अब चाँडै अघि बढ्ने विश्वास पनि दुवै पक्षले व्यक्त गरेका थिए ।