भारत । विश्व बैंकका प्रमुख अजय बङ्गाले धनी र गरिब राष्ट्रबीचको बढ्दो विभाजनले विकासशील मुलुकमा गरिबी बढ्ने खतरा रहेको बताएका छन् । भारतको गुजरात राज्यको गान्धीनगरमा वित्तमन्त्री र केन्द्रीय बैंकका प्रमुखहरुको दुई दिने बैठकमा विश्व बैंकका प्रमुख बङ्गाले यस्तो बताएका हुन् ।
उनले एक अर्काबीच अविश्वास बढ्दै गएपछि विश्वको उत्तर र दक्षिणलाई धनी र गरिबको विभाजनले अलग गरिरहेकोले एकताबद्ध हुन आग्रह गरे । बङ्गा गत महिना मात्रै विश्व बैंकको नेतृत्वमा आएका हुन् । अमेरिकी अङ्गीकृत नागरिक बङ्गालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले मनोनीत गरेका थिए । उनले ग्लोबल साउथभित्र पर्ने अफ्रिका, ल्याटिन अमेरिका, क्यारिबियन तथा एसिया र ओसिनियाका क्षेत्रले समृद्धिको मूल्य चुकाइरहेको भनेका हुन् ।
गरिब देशहरु कोरोना भाइरस महामारी र रुस–युक्रेन युद्धबाट विश्व अर्थतन्त्रमा परेको असरबाट अझै पनि उठ्ने क्रममा रहेको बेला बङ्गाले यस्तो चेतावनी दिएका हुन् । कोरोना भाइरस महामारी र रूस–युक्रेन युद्धले विश्वव्यापी इन्धन र वस्तुहरूको मूल्यमा असर पारेको छ । यस्तै जलवायु परिवर्तनको असरले पनि केही गरिब देशहरु अप्ठ्यारो अवस्थामा छन् ।
रूसले सोमबार काला सागर हुँदै युक्रेनी खाद्यान्न निर्यात गर्न दिने सम्झौता लम्ब्याउन अस्वीकार गरेपछि संयुक्त राष्ट्र संघले विश्वका गरिब मुलुकका लाखौँ जनताले मूल्य चुकाउनुपर्न चेतावनी दिएको छ । विश्व बैंकले आफ्नो वित्तीय क्षमता बढाउनका लागि काम गरिरहेको बताएको छ ।