काठमाडौं । आर्थिक वर्ष २०७८/७९को तुलनामा गत आर्थिक वर्ष २०७९/८०मा नेपालको व्यापारघाटा दुई खर्ब ६५ अर्ब रुपैयाँले घटेर साढे १४ खर्बमा झरेको छ । कुल वैदेशिक व्यापार तीन खर्ब ५१ अर्ब रुपैयाँले घटेपछि व्यापारघाटामा कमी आएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालको व्यापारघाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको छ । यो व्यापारघाटा आर्थिक वर्ष २०७८/७९को तुलनामा १५ दशमलव ४५ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९मा नेपालको व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षको सुरुमा सरकारले केही विलासी वस्तुको आयातमा गरेको प्रतिबन्ध र नेपाल राष्ट्र बैंकले एक हजारभन्दा बढी वस्तु आयातमा प्रतितपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण व्यापारघाटामा कमी आएको हो । अघिल्लो आर्थिक वर्षमा उच्च आयात भएका कारण वैदेशिक मुद्रा सञ्चिति घट्दै गएपछि सरकार र राष्ट्र बैंकले आयातमा कडाइ गरेका थिए ।
विभागका अनुसार गत आर्थिक वर्ष १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा आयात १६ दशमलव शून्य दशमलव ८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालको समग्र वैदेशिक व्यापार १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँको भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८८ प्रतिशत छ । आयातित वस्तुबाट कुल तीन खर्ब ७७ अर्ब २६ करोड चार लाख रुपैयाँबराबरको भन्सार राजस्व उठेको छ ।
गत आर्थिक वर्षमा पनि पेट्रोलियम पदार्थकोे आयात सबैभन्दा धेरै तीन खर्ब ५२ अर्ब रुपैयाँको भएको छ । यसमध्ये एक खर्ब ५३ अर्ब ७७ करोड रुपैयाँको डिजेल, ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँको पेट्रोल र ५८ अर्ब १५ करोड ४१ लाख रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ ।
पेट्रोलियम पदार्थपछि फलाम तथा स्टिलजन्य वस्तुको आयात सबैभन्दा धेरै छ । कुल एक खर्ब ४० अर्ब रुपैयाँबराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ । विद्युतीय मेसिन तथा उपकरण र यसका पाट्र्स एक खर्ब एक अर्ब रुपैयाँ, मेकानिकल उपकरणहरू एक खर्ब, तरकारी, बोसो, तेल र पुशजन्य उत्पादन ८६ अर्ब, प्लास्टिक र त्यसका सामानहरू ६० अर्ब रुपैयाँ बढीको आयात भएको छ ।
४३ अर्ब रुपैयाँको फलाम मात्रै आयात भएको छ भने ३५ अर्ब ५८ करोड रुपैयाँको कच्चा सोयाबिन तेल, २७ अर्ब १२ करोडको कोइला, २५ अर्ब ९१ करोडको कच्चा पाम तेल र २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात भएको छ ।
सबैभन्दा धेरै निर्यात हुने वस्तुमा कार्पेट अगाडि छ । एक वर्षमा नेपालले ११ अर्ब ५० करोड ६६ लाख रुपैयाँको कार्पेट निर्यात गरेको छ । कार्पेटपछि प्रशोधित पाम तेल १० अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको छ । यस्तै आठ अर्ब ४७ करोड रुपैयाँको सोयाबिन तेल र आठ अर्ब २७ करोड रुपैयाँको अलैँची निर्यात भएको छ ।
नेपालको व्यापार सबैभन्दा धेरै भारतसँग भएको छ । गत आर्थिक वर्ष भारतबाट १० खर्ब २७ अर्ब रुपैयाँको आयात भएको छ । भारतपछि चीनबाट दुई खर्ब २२ अर्ब रुपैयाँको आयात भएको छ । भारतपछि इन्डोनेसियाबाट ४१ अर्ब ८२ अर्ब, यूएईबाट ३२ अर्ब २१ करोड रुपैयाँ, अर्जेन्टिनाबाट २४ अर्ब ८६ करोड रुपैयाँ र मलेसियाबाट २२ अर्ब ४० करोड रुपैयाँको आयात भएको छ ।