काठमाडौं । गत २ साउनमा विमानस्थलबाट बरामद भएको तस्करीको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल गरिसकेको छ । हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ ।
टक्सार विभागले ‘ब्रेक शु’बाट सुन छुट्याउने प्रक्रियाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको बताएको छ । शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै यसबारे विभागले प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको छ ।