चीन । चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पाेरेसन (चाइना इनर्जी)का पूर्वउपमहाप्रबन्धक ली दोङलाई अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बाट निष्काशन गरिएको छ ।
सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षण आयोगद्वारा बुधबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त सजायको घोषणा गरिएको हो । देशको शीर्ष भ्रष्टाचारविरोधी निकायले गरेको अनुसन्धानमा कम्पनीको पूर्वपार्टी सदस्य समूहका प्रमुख सदस्य पनि रहेका थिए । उनले आफ्नो आदर्श र विश्वासको आधार गुमाएको र राजनीतिक चेतनाप्रति उदासीन भएका थिए ।
उनले आफ्ना समस्याहरूको अनुसन्धानको विरोध गरे र पार्टी र सरकारी आचरणमा सुधार गर्ने केन्द्रीय पार्टी नेतृत्वको आठ बुँदे निर्णयको अवहेलना गर्दै शृंखलाबद्ध गलत कामहरू गरेका थिए । उनले पार्टीको आदर्शविपरीत भोजभतेर, यात्रामा बढी रूचि देखाउने गरेको, गल्फ खेल्ने र नियमविपरीत पैसा र उपहार लिनेगरेको आधारमा कारबाही गरिएको बताइएको छ ।
सीपीसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘लीले नियमअनुसार आफ्नो व्यक्तिगत जानकारी रिपोर्ट पार्टीमा जानकारी गराउन नचाहेको, व्यक्तिगत स्वार्थका लागि जागिरको पदोन्नतिमा हस्तक्षेप गरेको र केही गैरसूचीबद्ध कम्पनीहरूमा सेयर स्वामित्व लिएको पाइएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘लीको मुद्दा पुनरावलोकन र अभियोजन प्रक्रियाका लागि अभियोजकहरूलाई हस्तान्तरण गरिनेछ र उनको अवैध लाभ जफत गरिनेछ ।’