काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लाकुरी फेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच सम्झौता भएको छ । रिसोर्टमा बैंकका ग्राहकलाई विशेष छुट दिने बारेमा आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले ट्रिबोन्स रिसोर्ट नेपालमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बताइएको छ । यो सहकार्यबाट बैंकका ग्राहक थप लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।