नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक अर्ब १५ करोड रुपैयाँ पठाउन लागेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्नेगरी वित्तीय प्रणालीमा पठाउन लागेको हो । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुको नाममा सूचना जारी गर्दै उक्त परिमाणमा रकम लगानीको लागि प्रस्ताव आह्वान गरेको हो ।
राष्ट्र बैंकका अनुसार यसरी लगानी गरिने रकमको लागि बैंक तथा वित्तीय संस्थाहरुले साउन २५ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर आवेदन दिनुपर्नेछ । रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात् विसं २०८० भदौ तीन गतेदेखि २०८१ भदौ तीन गतेसम्म तोकिएको छ । लगानीको लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि ९२ करोड, विकास बैंकहरुको लागि १७ करोड २५ लाख र फाइनान्स कम्पनीहरुको लागि पाँच करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने सर्तहरु तोकिएको छ ।
यसैगरी, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा व्यवस्था पछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।