काठमाडौं । भर्खर सार्वजनिक भएको एक समाचारअनुसार हिन्दु राष्ट्र र राजतन्त्रको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा एक ‘गुट’ पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासमा अलग्गै बैठक बसेको छ । यसलाई एक सामान्य घटनाको रूपमा लिन नसकिने होइन । तर, हिन्दु राष्ट्र र राजतन्त्र समेत फर्कन सक्ने प्रबल सम्भावना छ भन्ने हल्ला चलिरहेको समयमा भएको यो बैठक पार्टीको लागि शुभसंकेत पक्कै होइन । पार्टीमा वरिष्ठ दर्जामा पर्ने नेताहरू नै यसरी बहकिएर जाने स्थितिसम्म आउन दिनुमा पार्टीसभापतिकै कमजोरी मान्नुपर्ने हुन्छ । एक सक्षम नेतामा नभई नहुने गुणमध्ये पर्नेमा एक–आपसमा खुला संवादको वातावरण निर्माण गर्ने कुशलता, अरूलाई प्रभाव पार्ने, यकिन दिलाउने र प्रेरणा दिने कला, आफ्नो स्वार्थलाई समेत दाउमा राखेर खतरा मोल्न सक्ने सामथ्र्य आदि पर्छन् । यीबाहेक बहुमत निर्णयको हतियार त हरेक पार्टीप्रमुखसँग हुने नै भयो ।
२०४६ सालमा मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था भित्रिसकेपछि नेपालको प्रायः सबै पार्टीहरूले गुटको राजनीति खेप्दै आएका छन् । गुटबन्दी भनेको हरेक सानाठूला संघसंस्था र राजनीतिक पार्टीहरूमा निरन्तर भइरहने एक सामान्य समस्या हो । विश्वभर सधैँ भइरहने यो सामान्य समस्यालाई संयमित भएर दबाउने वा नियमन गर्ने वा नियन्त्रणमा राख्ने काम र कर्तव्य संस्थाका प्रमुख वा पार्टीका सभापतिको हुन्छ । गुटको समस्यालाई विचारको वादविवाद र सैद्धान्तिक छलफलमा परिणत गर्न पार्टी सभापतिले संवेदनशील भएर कोमलतापूर्वक सम्हाल्न सक्नु पर्छ ।
देशमा लोकतान्त्रिक माहोल नै बिगारेर समृद्धिको बाटोमा जान खोजेको राष्ट्रलाई अवरोध सिर्जना गर्ने काम ४६ सालपछिको नेपाली कांग्रेसभित्र सुरु भएको गुटबन्दीले ग¥यो । गुटबन्दीलाई पार्टी नेतृत्वले सम्हाल्न सकेन । गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद तीनै जना नेताले गुटबन्दीलाई न्यून गर्ने बाटोमा नहिँडीकन त्यसको ठीक उल्टो आ–आफ्नै स्वार्थमा राष्ट्रिय स्वार्थलाई ओझेलमा पारेर देशको सबैभन्दा ठूलो पार्टीले गुटबन्दीको राजनीतिलाई श्रेय दियो । पार्टी दुई टुक्रा भयो । पार्टी फुटेको पाँच वर्षपछि फेरि एकता भयो । पार्टी एकतापछिका सबै सभापतिमा पनि पर्याप्त मात्रामा नेतृत्वको गुण नभएको कारणले आजसम्म पनि नेपाली कांग्रेसमा गुटबन्दीको संस्कार कायमै छ । मधेशी पार्टीहरूमा पनि प्रमुखहरूको नेतृत्व क्षमता अब्बल दर्जाको नभएकै कारणले पार्टी टुक्रने र गुटबन्दीको राजनीति हाबी भइरहेका छन् ।
दुई शीर्ष नेता केपी ओली र प्रचण्ड मिलेर बनाएको विशाल पार्टी नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सभापति तथा संसद्मा दुई तिहाई सांसदको बहुमत भएको प्रधानमन्त्री हुँदा पनि पार्टी टुक्रन पुग्यो । योभन्दा ठूलो असफल नेतृत्वको उदाहरण अरु कहाँ होला ? यो विडम्बनाको प्रमुख कारण पनि नेतृत्वको केही अत्यन्त महत्वपूर्ण विशेषताहरू केपी ओलीमा कमी भएकाले हो । नेतृत्वको एक सरल र आधारभूत सिद्धान्त अपनाएर आफ्ना दुई जना सहकर्मी प्रचण्ड र माधवकुमार नेपाललाई मात्र प्रफुल्ल चित्तमा राखेर प्रसन्न तुल्याई राख्न सकेको भए सायद नेपालको राजनीति नै नयाँ मोडमा जान्थ्यो र उनी एक सफल राजनेता हुन सक्थे ।
भूमिगत माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि पार्टीभित्रको गुटबन्दी रोक्ने काममा प्रचण्डको नेतृत्व पनि असफल भयो । पार्टी टुक्रियो । विभिन्न राजनीतिक विचारधाराहरूसँग जोडेर विश्व राजनीति, एसियाको भूराजनीति, मुलुकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरातलीय यथार्थलाई समेटेर आफूमुनिको वरिष्ठ नेताहरूलाई पार्टीप्रमुख प्रचण्डले राम्रोसँग यकिन दिलाउन नसकेरै पार्टी टुक्रन पुगेको हो । १५ वर्षपहिले जनतालाई विश्वास दिलाएर प्रधानमन्त्री बन्न सफल प्रचण्डले पार्टीभित्र संवाद, छलफल, वादविवाद गरेर राजनीतिक इस्यु वा पार्टी व्यवस्थापनको कामकुरोमा आफ्नै मातहतका नेताहरूलाई चित्त बुझाउन असफल भए । उनी अहिले सरकारप्रमुख भएर देश हाँकेको सात महिना भयो । गम्भीर प्रकृतिको नभए पनि पार्टीभित्र गुटबन्दी केही मात्रामा रहिरहेको गत केन्द्रीय समितिको बैठकमा प्रस्ट देखियो । अहिलेको घडीमा पनि पार्टीप्रमुखको हैसियतले नभई नहुने केही नेतृत्वको औजार प्रयोग गर्ने आँट गरेनन् भने पार्टी उँभो लाग्न सक्तैन ।
राज्यसत्ता सञ्चालनतर्फ त प्रचण्डलाई झन् ठूलो चुनौती छ । उनको लागि अहिलेको प्रधानमन्त्रीको कुर्सी एक सुनौलो अवसर पनि हो । केपी ओलीले एक सफल राजनेता हुने अवसर गुमाए । प्रचण्डलाई अहिले त्यो अवसर प्राप्त भएको छ । एक नेता सफल हुन अनिवार्यरूपमा आवश्यक केही नेतृत्वको विशेषताहरू उनले प्रयोग गर्नैपर्ने हुन्छ । एक विश्वप्रख्यात नेतृत्व विज्ञको भनाइअनुसार सफल नेता हुन अन्य धेरै नेतृत्व औजारको प्रयोगसँगै आवश्यक परेमा अति कडा हुनुपर्ने हुन्छ र कहिलेकाहीँ शक्ति (कुर्सी)को नाङ्गो प्रयोग पनि गर्नुपर्ने हुन्छ । अब जनता गत ३४ वर्षको राज्यसत्ता सञ्चालन, राष्ट्रिय राजनीति तथा पार्टी–पार्टीबीचको द्वन्द्व र पार्टीभित्रको फोहोरी खेलहरूसँग दिक्क भइसकेका छन् । जनता अझै केही चमत्कार होला कि भनेर धैर्य गरेर बसिरहेको अवस्था छ । अहिले प्रचण्डलाई चमत्कार गरेर देखाउने अवसर छ । चमत्कार गरेर देखाउन उच्चकोटीको नेतृत्व गुण आवश्क छ, शक्तिको नाङ्गो प्रयोग अपरिहार्य छ । उच्चस्तरको साहस अनिवार्य छ ।