न्युयोर्क, वैशाख १८
विश्व महामारी कोरोनाभाइरसका कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र सन् २००८ यताकै खराब स्थितिमा पुगेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र वार्षिक ४.८ प्रतिशतले खराब स्थितिमा पुगेको हो । बीबीसीका अनुसार बुधबार उक्त तथ्यांक सार्वजनिक गरिएको हो । विश्व महामारीका कारण जारी लकडाउनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको हो । हालसम्म २ करोड ६० लाख अमेरिकीले बेरोजगार रहेको बताएका छन् । त्यस्तै आर्थिक गतिविधि र उपभोक्ता विश्वास समेत ह्वात्तै गुमेको छ ।
विश्लेषकहरुले अझै खराब स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । त्यसो महामारीले विश्व अर्थतन्त्रमै प्रभाव पारिरहेको छ । दोस्रो ठूलो अर्थतन्त्र चीनमा पनि पहिलो तीन महिनामा अर्थतन्त्र ६.८ प्रतिशतले ओरालो लागेको छ । जुन सन् १९९२ यताकै खराब अवस्था हो । त्यस्तै जर्मनीको अर्थतन्त्र पनि यो वर्ष ६.३ प्रतिशतले ओरालो लागेको छ ।
जर्मन अर्थमन्त्री पिटर अल्टमायरले सन् १९४९ यताकै खराब अवस्था भनेका छन् । अमेरिकी अर्थतन्त्र यो वर्ष २ प्रतिशत वृद्धिदरको अपेक्षा गरिएको थियो तर मध्यअप्रिलबाट आधा अमेरिका लकडाउनको अवस्थामा पुगेपछि त्यसको असर अर्थतन्त्रमा देखिएको हो । केही अमेरिकी राज्यले लकडाउन खुकुलो पार्नथालेका भने छन् ।