काठमाडौँ । शुक्रबार एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ ।
मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ । यस अगाडि उनले विश्ववातावरण कोषको एसेम्वली बैठकलाई सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह भइरहेको बताए ।
उनले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातिको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्यरूपमा वृद्धि भएको बताए । मन्त्री डा. महतले यस्ता प्रयास हुँदा हुँदै पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा परेको, नेपाल विश्वको १०औँ जोखिमयुक्त मुलुक भएको छ भने ।
अर्थमन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधताको खाका तथा कोषलगायतको स्रोत अति प्रभावित मुलुकमा केन्द्रित गर्न अनुरोध गरे । उनले जबसम्म एकीकृत र समुच्चरुपमा कार्यान्वयन गरिँदैन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा व्यक्त गरे ।
उनले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणालीमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आयोजनामा ठोस तथा पहिचानयुक्त क्रियाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न जोड दिए । मन्त्री डा. महतले मानव विकासका क्षेत्रमा महत्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हासिल हुन नसक्ने बताए ।