काठमाडौं । हाथ् वे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य कायम रहने गरी २४ लाख २७ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो । कम्पनीले जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँ मध्येबाट १२ दशमलव ५० प्रतिशतको अनुपातमा १४ करोड ६२ लाख ५० हजार रुपैयाँ अर्थात् ५० रुपैयाँ अंकित मूल्य कायम रहने गरी २९ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । सो मध्ये १० प्रतिशतका दरले हुन आउने दुई लाख ९२ हजार पाँच सय कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरूको लागि दुई प्रतिशत अर्थात् ५८ हजार पाँच सय कित्तासेयर कर्मचारीहरूको लागि पाँच प्रतिशत अर्थात् एक लाख ४६ हजार दुई सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याई बाँकी रहेको सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो ।
सेयर निष्काशन एवम् बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही भदौ २१ गतेबाट खुला भई छिटोमा भदौ २५ गते र ढिलोमा असोज चार गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम २० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने बताइएको छ ।