ब्रसेल्स, वैशाख २१
युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले बिहीबार यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ । ईसीबीले कोरोनाभाइरस संक्रमणको महामारीविरूद्ध जुध्न नयाँ उपायहरूको शृंखला प्रस्तुत गरिने बताएको छ । ईसीबीको प्रशासनिक परिषद्ले यूरोप क्षेत्रको आधार ब्याजदर शून्य प्रतिशत रहने बताएको छ भने सिमान्त कर्जा र निक्षेप दरलाई क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशत नै कायम रहनेछ ।
‘हामीले हाम्रा मुख्य ब्याज दरलाई ऐतिहासिक तल्लो तहमा राखेका छौँ अर्थात् कर्जा दर निम्न रहेको छ’, ईसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकले एक फरक विज्ञप्तिमा कोभिड–१९ सँग जुझ्ने उपायका लागि कार्यक्रम पनि घोषणा गरेको छ । यूरो क्षेत्रमा तरलतालाई सामना गर्न ईसीबीलक्षित दीर्घकालीन पुनर्वित्त कार्यक्रमको नयाँ शर्त र उपायहरू प्रस्ताव गरेको छ । उसले गैर–लक्षित महामारीको आपतकालिन र्दीर्घकालीन पुनर्वित्त कार्यक्रमहरू पनि छलफलका लागि पेश गरेको छ, जुन सन् २०२० को मे महिनामा सुरू भई सन् २०२१ को जुलाई–सेप्टेम्बरसम्मका लागि लागु हुनेछन् ।
हालै घोषणा भएका उपायहरूलाई यूरोपेली केन्द्रीय बैंकको कोरोनाभाइरसको प्रभाव विरूद्धको बृहत् कार्यक्रम भनिएको छ । यसका लागि सात खर्ब ५० अर्ब यूरो (करिब आठ खर्ब १६ अर्ब अमेरिकी डलर) बजेटको घोषणा गरिएको छ र उक्त बजेट खासगरी महामारीका समय भाइरस संक्रमणविरूद्ध लड्न चाहिने आपतकालीन खरिद् कार्यक्रममा खर्च गरिने गत बताइएको छ ।