काठमाडौं, वैशाख २१
सनराइज बैंकले आफ्ना ग्राहकलाई मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । हालको लकडाउनको अवस्थामा आफ्ना ग्राहकहरूलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने उद्देश्यले बैंकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।
योसँगै बैकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोगगरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा पाँच सय रूपैयाँसम्म क्यासब्याक प्रदान गर्ने छ । वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरू गरिएको बैंकले जानकारी दिएको छ । यो अवस्थामा घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ् सुविधाको उपभोग गर्न समेत बैकले आग्रह गरेको छ ।
यसका साथै, बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केही नगद काउन्टर, रेमिटयान्स सेवाहरू सुचारु राख्दै आएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९४ करोड ४३ लाख ८८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७९ करोड २४ लाख ४५ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ८२ अर्ब १५ करोड ५८ लाख १४ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड ७८ लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब चार करोड ७४ लाख ३६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने भने वितरणयोग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रूपैयाँ छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७५ अर्ब ४३ करोड २१ लाख ५१ हजार रूपैयाँ निक्षेप संंकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७२ करोड १४ लाख नौ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।