चितवन । आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले बताएका छन् ।
आज भरतपुर विमानस्थलमा कांग्रेस केन्द्रीय सदस्य कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै यस विषयमा टुङ्गो भने नलागिसकेको जानकारी दिए । विमानस्थलमा पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा पत्रकारले प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।
पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ थियो ।