काठमाडौं । सेयर बजार परिसुचक दुई हजार बिन्दुबाट उकालो लागेको छ । अघिल्लो दिन १९ दशमलव ४२ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोबार दिन आज बुधबार ३९ दशमलव ४८ अंकले उकालो लागेर दुई हजार सात दशमलव शुन्य छ बिन्दुमा उक्लिएको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६६ अंकले उकालो लागेर तीन सय ८६ दशमलव ८१ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७५ वटा कम्पनीहरुको ३६ हजार ४५ पटकको कारोबारमा ५१ लाख ४४ हजार सात सय २४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौं सय पाँच रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो देखिएको छ ।