नारायणगढ (चितवन) । विभिन्न कारण देखाएर धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ ।
रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छन् । शुक्रबार नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले जसरी भए पनि रङ्गाशाला बनाउने बताताइन् ।
उनले भनिन्, “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”
उनले भनिन्, “म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।”
रङ्गशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौँ बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढङ्गले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ । उनले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् ।