काठमाडौँ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले शिलान्यास गरेको लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उनको सालिक पनि निर्माण गरिएको छ ।
एक हजार दुई सय केजीको तौल भएको धलौटको सालिक १२ फिट अग्लो छ । सालिक निर्माण गर्न रु. एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले जानकारी दिए ।
स्व सिंहले विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सर्वोच्च कमान्डरको भूमिका निर्वाह गरी नेपाली जनतालाई पुनः प्रजातन्त्र प्राप्तिमा पु-याएको योगदानको कदरस्वरुप भक्तपुरमा उनको सालिक निर्माण गरिएको हो । प्रतिमाको अनावरण असोज २ गते स्व. सिंहको स्मृति दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने निश्चित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।