काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।
सर्वसाधारण यात्रुको सेवामा बुधबार उदघाटन भए पनि बिहीबारदेखि मात्र द्रुत सेवाका बस चल्ने जनाइएको छ । सूर्यविनायक देखि रत्नपार्कसम्मको रुटमा द्रुत बस सेवा चल्ने छ ।
बुधबार उदघाटनको दिन द्रुत सेवाका बसमा बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, काठमाडौं महानगरपालिका मेयर बालेन शाहका साथै मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार रत्नपार्क-सूर्यविनायक रुटमा जति भाडा अरु सार्वजनिक बसहरुले लिन्छन् त्यति नै भाडा द्रुत सेवाका बसमा पनि लाग्ने छ । रातो रंगले पोतिएको लेनमा मात्र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ ।