ढाका, वैशाख २३
एसियाली विकास बैंक (एडीबी)ले विश्व महामारी कोरोनाभाइरसका कारण बंगलादेशी अर्थतन्त्रमा १३ अर्ब ३० करोड अमेरिकी डलर क्षति हुने अनुमान गरेको छ । मनिलामा रहेको एडीबीले उक्त क्षति उसले नै गत मार्चमा गरेको अनुमानको चार गुणा बढी रकम हो । उक्त क्षति कुल गार्हस्थ्य उत्पादनको ४.९ प्रतिशत क्षति हो । यदि उक्त मात्रामा क्षति हुने हो भने सरकारले ल्याएको जीडीपीको ३.३ प्रतिशत राहत प्याकेज अपर्याप्त हुनेछ । एडीबीका अनुसार ३७ लाखसम्म रोजगारी गुम्ने खतरा देखिएको छ । बंगलादेशमा मार्च २६ यता सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । निर्यातमा कमी, घट्दो रेमिट्यान्स र घरेली आर्थिक गतिविधिमा सुस्तताजस्ता मुख्य आर्थिक माध्यममा भाइरसको असर देखिनेछ ।
यसैबीच, बंगलादेशी सरकारले एडीबीबाट ५० करोड अमेरिकी डलर बजेटरी सहयोग खोज्ने भएको छ । बंगलादेशमा साढे २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् भने साढे १० प्रतिशत जनसंख्या अतिगरिब छन् । यस्तो परिस्थितिमा कोरोना महामारीले थप दबाब सृजना गर्ने देखिएको हो । बंगलादेशमा कुल कार्यशक्तिको ८५ प्रतिशत अनौपचारिक अर्थतन्त्रसँग जोडिएका छन् भने ४.३ प्रतिशतको बेरोजगारी दर रहेको छ । धेरैजसो बंगलादेशी गार्मेन्ट, ठूला, साना तथा मध्यम उद्यमसँग सम्बन्धित छन् । यी क्षेत्रका कतिपयले रोजगारी गुमाइसकेका छन् । एडीबीले बंगलादेशलाई ३ लाख ५० हजार डलर बराबरको प्राविधिक अनुदान सहायता प्रदान गरिसकेको छ ।