काठमाडौँ । पशुपतिमा सुनको सट्टा चाँदीको जलहरी राखेको, सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउन नहुने अभिव्यक्ति दिएर सदन तताउने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेर्नकै लागि हजारौँ पर्यटक नेपाल आउनेगरेको अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा ‘भाइरल’ भएका सांसद राजन दाहाललाई अवैधरुपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन र उपयोग गरेर घर निर्माण गरेको आरोप लागेको छ ।
दाहालले संघीय संसद्मा माओवादी केन्द्रको टिकटमा सिन्धुलीबाट चुनाव जितेका हुन् । सस्तो लोकप्रियता कमाउन चर्को कुरा गर्ने सांसद दाहालले सिन्धुली माडीमा पक्की घर निर्माण गरिरहेका छन् ।
सांसद दाहालको घर निर्माणको लागि मरिण गाउँपालिकाका प्रमुख विमर्श मुक्तान ‘प्रख्यात’को प्रत्यक्ष संलग्नतामा बालुवा तस्करी भएको सोही मरिण गाउँपालिका वडा नं ४ को जनप्रतिनिधि, स्थानीय बासिन्दाहरुद्वारा बालुवा तस्करी गरिरहेको अवस्थामा टिपर एक र जेसीबी एक गरी दुुई थान गाडी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलकोटलाई जिम्मा लगाएको गाडीको तस्बिरसहित कुमार लामाले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् भने दीपेश बरालले माननीय राजन दाहालको जय गाउन भक्तजनहरुलाई सुझाव दिएका छन् । वडा नम्बर ४ मा नेकपा एमालेले निर्वाचन जितेको थियो । सोही कारण त्यहाँ सांसद दाहाल र अध्यक्ष मुक्तानको अवैध काम सार्वजनिक भएको हो ।
मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले गत साउन ३२ गते एक सूचना प्रकाशन गरी नदीजन्य पदार्थ ढुंगा, गिट्टी तथा बालुवा उत्खनन संकलन, बिक्री एवं ओसारपसार गर्न प्रतिबन्ध लगाएका थिए । तर, उक्त प्रतिबन्ध फुकुवाको अर्को सूचना नआउँदै सांसद दाहालले अवैधरुपमा गिट्टी, बालुवा संकलन र ओसारपसार गरेर घर निर्माण गरेपछि स्थानीयले विरोध गरेका छन् ।