काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूर पश्चिम प्रदेश ईन्चार्ज डिलाराम आचार्यलाई प्यारालाइसिस भएको आशंका गरिएको छ । डाक्टरहरुले बिरामी आचार्य बोल्न नसक्ने र दाहिने पाटो नचल्ने भएकाले प्यारालाइसिस भएको आशंका गरेका हुन् ।
आचार्य हिजो(बुधबार) अछाममा माओवादीसँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्यक्रममा एक्कासी बोल्न र चल्न नसक्ने भएपछि आछामको बयालपाटा अस्पतालमा जाँच गराइएको थियो । र, उक्त अस्पतालमा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा जाँच गराएको र त्यहाँ पनि सम्भव नभएपछि सोही जहाजमा काठमाडौं ल्याइ वीर अस्पतालमा भर्ना गरिएको थियो । अहिले आचार्यको वीर अस्पतालको पहिलो तलाको ४ नम्बर क्याबिनको ईमर्जेन्सीमा उपचार भैरहेको छ ।
आचार्यको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) आज(बिहीबार) बिहान सवा ९ बजे अस्पताल पुगेका थिए ।