काठमाडौं । राजावादी अभियन्ता र मितेरी पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका छन् । आज(बिहीबार) दिउँसो माईतीघर मण्डलामा आरती रावल गिरीको नेतृत्वमा मितेरी पार्टीका अध्यक्ष धनेन्द्र बस्नेत, राजावादी अभियन्ता कोपिला अधिकारी लगायतले जन्मकैद पाएका अपराधीलाई आममाफी दिन पाईदैन भन्दै राष्ट्रपतिको राजीनामाको माग गरेका हुन् ।
उनीहरुले ‘विवेकहीन राष्ट्रपति राजिनामा दे’, ‘सर्वोच्चसहित जन्मकैद पाएका अपराधीलाई कैदकट्टी, मिनाहा, माफी दिन पाईदैन’, ‘विवेकहीन राष्ट्रपति राजिनामा दे’, ‘राष्ट्रपति रामचन्द्र पौडेल मुर्दावाद’, ‘लाचार व्यवस्था चाहिंदैन’, ‘गणतन्त्र मुर्दावाद’, ‘सर्वस्वसहित जन्म कैद पाएका अपराधीहरुलाई कैद मिनाहा गर्न पाईंदैन’ लगायतका प्लेकार्ड बोकी नाराबाजी गरेका थिए ।
चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका योगराज ढकाल (रिगल)लाई संविधान दिवसका अवसरमा (गत असोज ३ गते) सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । सोही विषयलाई लिएर अहिले विभिन्न पार्टी, संगठन, समुदाय सडकमा निस्केर नारा लगाउँदै सरकार तथा राष्ट्रपतिको राजीनामा माग गरिराखेका छन् ।