काठमाडौं । वैदेशिक रोजगारीबाट संलग्न ६८ दशमलव ४१ प्रतिशतको लगानीको प्रमुख क्षेत्र घरजग्गा भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा संलग्नहरूमध्ये ६८ दशमलव ४१ प्रतिशतले आफ्नो तथा परिवारका नाममा घर/जग्गा खरिद एवं निर्माण गरेको देखिएको हो ।
बैंक बचत, सुन/चाँदी खरिद, व्यापार व्यवसाय, सामाजिक कार्य, व्यक्तिगत लगानी र सेयर खरिदमा क्रमशः ६६ दशमलव दशमलव शून्य दुई, ५२ दशमलव ६७, १२ दशमलव २७, १२ दशमलव शून्य एक नौ दशमलव १४ प्रतिशत र चार दशमलव ४४ प्रतिशतले बचत रकम लगानी गरेका छन् । यसैगरी वैदेशिक रोजगारीमा संलग्न श्रमिकहरूको पारिवारिक खर्च संरचनामा सबैभन्दा बढी दैनिक उपभोगमा ५८ दशलनव ७८ प्रतिशत, शिक्षा र स्वास्थ्यमा २२ दशमलव ४८ प्रतिशत, ऋण तिर्न १० दशमलव सात प्रतिशत र मनोरञ्जन तथा अन्यमा आठ दशमलव ६७ प्रतिशत खर्च गर्नेगरेको प्रतिवेदनमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा संलग्न परिवारको वैदेशिक रोजगारीमा जानुपूर्व र गएपछि आम्दानी, खर्च र बचतको तुलना गर्दा वैदेशिक रोजगारीमा गएपछि औसत आम्दानी करिब दुई लाख २१ हजारमा दुई सय ८१ दशमलव ४५ प्रतिशतले वृद्धि भई आठ लाख ४३ हजार पुगेको र औसत खर्च करिब एक लाख ९० हजारमा एक सय २४ दशमलव ७४ प्रतिशतले वृद्धि भई चार लाख २७ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । औसत बचत ३१ हजारबाट वृद्धि भई चार लाख १६ हजार पुगेको देखिन्छ । वैदेशिक रोजगारीमा जानुपूर्व परिवारको बचत ज्यादै न्यून भएकाले गएपछि औसत बचतको प्रतिशत परिवर्तन बढी देखिएको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा संलग्न व्यक्ति र परिवारका सदस्यहरूमध्ये वैदेशिक रोजगारीबाट प्राप्त आयलाई ९७ दशमलव ६५ प्रतिशतले बैंकिङ माध्यमबाट स्वदेशमा पठाउने गरेको र दुई दशमलव ३५ प्रतिशतले मात्र गैरबैंकिङ माध्यममार्फत पठाउने गरेको बताएका छन् । कतिपयले अनौपचारिक माध्यमबाट नेपाल पठाउने र स्वदेशमा सम्बन्धित परिवारले बैंक खातामार्फत भुक्तानी लिनेगरेको कारोबारलाई समेत बैंकिङ माध्यम भनेको हुनसक्ने सम्भावना हुँदा बैंकिङ माध्यमबाट प्राप्त हुने विप्रेषणको प्रतिशत बढी भएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार स्थलगत सर्वेक्षणको क्रममा नमूना छनौटमा परेका वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक वा निजको एकाघर परिवारको बैंक खाताको अवस्थामा वैदेशिक रोजगारीमा जानुपूर्व ५० दशमलव १३ प्रतिशत परिवारको बचत खाता, १२ दशमलव ७९ प्रतिशत परिवारको कर्जा खाता रहेको पाइयो भने ३७ दशमलव शून्य आठ प्रतिशत परिवारको कुनै पनि बैंक खाता नभएको अवस्था देखिएको थियो । वैदेशिक रोजगारीमा गएपछि परिवारको बचत तथा कर्जा खाता खोल्ने परिवारको संख्यामा वृद्धि भई क्रमशः ६९ दशमलव ९७ प्रतिशत र २९ दशमलव ५० प्रतिशत पुगेको पाइयो । तर, शून्य दशमलव ५२ प्रतिशत परिवारको वैदेशिक रोजगारीपछि पनि बैंकमा कुनै पनि खाता नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले वैदेशिक रोजगारीका लागि खुला गरेका देशहरूमा विगत १० वर्षमा श्रम स्वीकृति लिएर जाने नेपाली श्रमिकहरूको संख्या आर्थिक वर्ष २०७०/७१ मा गतवर्षको तुलनामा १५ दशमलव २५ प्रतिशतले वृद्धि भई पाँच लाख १९ हजार छ सय ३८ जना रहेकोमा आर्थिक वर्ष २०७९/८० मा गतवर्षको तुलनामा २२ दशमलव ४२ प्रतिशतले वृद्धि भई सात लाख ७१ हजार तीन सय २७ जना पुगेको देखिन्छ । आर्थिक वर्ष २०७०/७१ पछिका अधिकांश वर्षहरूमा वैदेशिक रोजगारीको वृद्धिदर घटेको छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीका लागि विगत १० वर्षमा श्रम स्वीकृति लिएर जाने नेपाली श्रमिकहरूको संख्या आर्थिक वर्ष २०७०/७१ मा गतवर्षको तुलनामा चार दशमलव ६४ प्रतिशतले ह्रास भई ७६ हजार २५ जना रहेकामा त्यसपछिका प्रत्येक वर्षहरूमा वैदेशिक रोजगारीको वृद्धिदर घटेको छ ।
कोभिड—१९को महामारीका कारण विभिन्न देशमा रोजगारीमा रहेका नेपालीहरू स्वदेश फिर्ता भएका तथा उक्त अवधिमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएकाले सोको प्रभाव न्यून भएसँगै पछिल्ला वर्षमा श्रम भिसा अवधि बाँकी रहेका तथा नयाँ कामदारहरू समेत वैदेशिक रोजगारीमा गएकाले सो संख्यामा उल्लेख्य वृद्धि भएको हुनसक्ने देखिन्छ । सो संख्या आर्थिक वर्ष २०७९/८० मा एक लाख ३६ हजार नौ सय ८४ पुगेको देखिन्छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका श्रमिकको प्रदेशगत औसत अंश १५ दशमलव ६४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।