काठमाडौं,मानव अधिकार तथा शान्ति समाजले बिभिन्न मागहरु राखि यहि शुक्रबार प्रधानमन्त्री कार्यालय अगाडि आन्दोलन गर्ने भएको छ । “विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउ, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय शिघ्र खारेज गर, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर” लगायतका मागहरु राखि आन्दोलन गर्ने बताएको छ । उक्त कार्यक्रम प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित अहिंसावादीहरुको सहभागिता रहेको थियो ।
मानव अधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रीत रहि सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो विरोध प्रदर्शन आयोजना गरेको बताएको छ । विस्तृत शान्ति सम्झौताको मर्म विपरित, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सत्य र न्यायका खातिर यो प्रदर्शन आयोजना गरेको बताएको छ ।