महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २८
कोरोना संक्रमणका कारण सरकारले गरिरहेको लकडाउनको समयमा सल्लेरीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल गोदाम रित्तिएको छ । कम्पनीले ल्याएको जापानिज चामलतर्फ उपभोक्ताको आकर्षण र संस्थानले चामल बिक्रीमा १० प्रतिशत छुट दिएका कारण चामल बिक्री बढेको र अहिले गोदाम नै रित्तिन पुगेको हो । छुट र लकडाउनका कारण बजार बन्द भएकाले पनि स्थानीय कम्पनीमा चामल खरिदका लागि पुग्ने गरेको बताइएको छ ।
लकडाउनभन्दा पहिले फाटफुट मात्र बिक्री हुने चाल अहिले उल्लेख्य मात्रामा बिक्री भइरहेको कम्पनीको सल्लेरी शाखाका प्रमुख शम्भु प्रसाद रेग्मीले जानकारी दिए । ४७ रुपैयाँ प्रतिकिलोमा बिक्रीवितरण हुँदै आएको चामलमा कोरोना प्रभावका कारण छुट दिई ४२ रुपैयाँ ३० पैसामा बिक्री गरिएको उनको भनाई छ ।
गत चैत २७ गतेपछि कम्पनीले सल्लेरीस्थित गोदामबाट २ सय ३१ क्विन्टल चामल वितरण गरेको छ । जब कि चालू आर्थिक वर्षको साउनदेखि चैत २६ गतेसम्म २ सय ५० क्विन्टल चामल बिक्री भएको छ । कम्पनीको सल्लेरी शाखाबाट ७ सय ७१ जनाले चामल खरिद गरेका छन । कम्पनीले ल्याएको जापानिज चामलमा उपभोक्ताको आकर्षण बढेको संस्थानले जनाएको छ ।
कम्पनीको चामल सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा बिक्री भएको संस्थानको तथ्यांक रहेको छ । खाद्य संस्थानले सोलुखुम्बुमा जापानिज चामलको साथमा सोना मनसुली चामल बिक्री गर्दै आएको छ । चामल गोदाम रित्तिएको सल्लेरी कार्यालयका लागि २ हजार क्विन्टल, सोताङ डिपोका लागि ५ सय क्विन्टल र लुक्ला डिपोका लागि एक हजार ५ सय क्विन्टल चामल माग गरिएको प्रमुख रेग्मीले जानकारी दिए । यो चामल छिट्टै नै ढुवानी हुने उनको भनाइ छ ।