काठमाडौं । कोशी प्रदेशमा डा.शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसित सत्ता समीकरण गरेपछिको अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यमन्त्रीको दाबी गर्दा कोइराला पक्षले एमालेसँग मिलेर विद्रोह गरेपछि निर्णय गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज (शुक्रबार) करिब ११ बजे बस्ने बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने कांग्रेसले जनाएको छ । नेकपा एमालेसँग मिलेर कांग्रेसका २९ सांसद मध्ये ८ जनाले विद्रोह गरेका छन् । उनीहरुका तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका छन् । गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।
बिहीबार सत्ता गठबन्धनले माओवादी नेता आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि कांग्रेस कोशीका ८ जना सांसदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए । आङ्बो र कार्की दुबैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन् । विधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ ।