चीन । चीनले पुँजीबजारमा विश्वास बढाउन स्थिरीकरण कोष खडा गर्ने तयारी गरेको छ । चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी)लगायतका वित्तीय नियामकहरुले यससम्बन्धी प्रारम्भिक योजना देशको शीर्ष नेतृत्वलाई पेस गर्ने बताइएको छ ।
योजनामा खर्बौँ युआनको स्थिरीकरण कोष खडा गरिने बताइएको छ । ब्लुम्बर्गका अनुसार योजना कार्यान्वयन विवरणहरु टुंगो लागि नसकेको र प्रस्ताव खारेज हुने सम्भावना पनि रहेको उल्लेख गरेको छ ।
चीनको सेयर बजार लामो समयदेखि घट्दो क्रममा रहेपछि लगानीकर्तामा चिन्ता बढाएको छ । ‘सीएसआई ३००’ सूचक सन् २०२१ मा बनाएको अल टाइम हाई विन्दुबाट ४० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । घट्दो सेयर बजारलाई उकास्न चीनले विभिन्न रणनीति कार्यान्वयन गरेपछि सफल हुन सकेन ।
सेयरबजार उकास्न राज्य नियन्त्रित चारवटा ठूला चिनियाँ बैंकहरुले सांघाईमा कारोबार भइरहेका सेयर खरिद गरेको र आगामी छ महिनासम्म होल्ड गर्ने बताएका छन् ।