काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआरमार्फत् विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमी भई सेवाग्राहीहरूलाई लामो समय लाइनमा बसेर नगद (खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ ।
क्यूआर प्रणालीबाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरू बिर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ-याङ, सानो भ-याङ, नारायणगढ, महेन्द्रनगरबाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए । बैंकले दुई सय ६० वटा शाखा, दुई सय ५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरू र एक सय सात वटा शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिईरहेको छ ।