काठमाडौं । वैदेशिक रोजगारीका क्रममा पछिल्लो एक दशकमा दुई हजार दुई सय सात जनाले हृदयघातका कारण ज्यान गुमाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार रोजगारदाताले नेपाली श्रमिकलाई सुरक्षा प्राथमिकतामा नराख्दा विभिन्न कारणले ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
सरकार र रोजगारदाताले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरूलाई सरकार र रोजगारदाताले गन्तव्य मुलुक, कामको प्रकृति, वातावरण, बसोबास, खानापान, स्वास्थ्य सेवा, कानुनबारे जानकारी नगराउँदा वैदेशिक रोजगारी सुरक्षित बन्न सकेको छैन । यही कारण विभिन्न रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटनालगायतबाट नेपाली श्रमिकले विदेशी भूमिमा ज्यान गुमाउनु परेको छ ।
मन्त्रालयको प्रतिवेदनअनुसार सडक दुर्घटना, कार्यस्थल दुर्घटनका कारण करिब दुई हजार जनाको ज्यान गुमेको छ । यो अवधिमा सडक दुर्घटनाका कारण एक हजार तीन सय ५९ जना र कार्यस्थल दुर्घटनाका कारण सात सय ५४ जना युवाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी प्राकृतिक कारणले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्राकृतिक कारणले दुई हजार ७७ जना, आत्महत्याका कारण एक हजार एक सय ८७ जना, अन्य कारणले दुई हजार आठ सय ७५ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अधिकारीहरूका अनुसार कोभिडका कारण भने दुई सय सात जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, हृदयघातका कारण पछिल्लो पाँच वर्षमा पाँच सय ९९ जनाले ज्यान गुमाएका छन् । सन् २०१७/१८ मा एक सय ८६ जना, सन् २०१८/१९ मा एक सय १९ जना, सन् २०१९/२० मा एक सय तीन जना, सन् २०२०/२१ मा एक सय एक जना र सन् २०२१/२२ मा ९० जना युवाले हृदयघातका कारण ज्यान गुमाएका छन् । चिकित्सकहरूका अनुसार नसर्ने रोग हृदयघातका कारण युवाहरूले ज्यान गुमाउनुपरेको बारेमा भने सरकारले अध्ययन अनुसन्धान गरेको छैन । यद्यपि हृदयघातका कारण खाडी र मलेसियामा धेरै नेपाली युवाले ज्यान गुमाउन परेको सरकारी अधिकारीहरूको भनाइ छ ।
त्यस्तै, सन् २०१७/१८ मा एक सय २७ जना, सन् २०१८/१९ मा एक सय १५ जना, सन् २०१९/२० मा ७६ जना, सन् २०२०/२१ मा एक सय १४ जना र सन् २०२१/२२ मा एक सय २९ जनाले सडक दुर्घटनका कारण ज्यान गुमाएका छन् । यस्तै, सन् २०१७/१८ मा ६७ जना, सन् २०१८/१९ मा ६२ जना, सन् २०१९/२० मा ४१ जना, सन् २०२०/२१ मा २१ जना र सन् २०२१/२२ मा ५० जनाले कार्यस्थल दुर्घटनाका कारण ज्यान गुमाएका छन् ।
हृदयघात, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या र प्राकृतिक कारणले ज्यान गुमाउँदा अधिकांश युवाले खाडी र मलेसियामा ज्यान गुमाएका हुन् । सरकारी तथ्याङ्कअनुरूप सबैभन्दा धेरै साउदी अरबमा युवाहरूले ज्यान गुमाएको पाइन्छ । त्यसपछि समग्रमा कतार, यूएई, कुवेत, बहराइनलगायतका मुलुकमा युवाहरूले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको क्रममा युवाहरूले खाडी मुलुक मात्र नभई अन्य मुलुकमा समेत ज्यान गुमाएका छन् । तर, त्यो न्यून रहेको पाइन्छ । मलेसियामा पनि नेपाली युवाले ज्यान गुमाएका छन् ।
सन् २०१७/१८ मा एक सय २६ जना, सन् २०१८/१९ मा एक सय ३६ जना, सन् २०१९/२० मा ८७ जना, सन् २०२०/२१ मा एक सय ६२ जना र सन् २०२१/२२ मा दुई सय १५ जनाले प्राकृतिक कारणले ज्यान गुमाएका छन् । सन् २०१७/१८ मा एक सय ८४ जना, सन् २०१८/१९ मा दुई सय १० जना, सन् २०१९/२० मा दुई सय ८५ जना, सन् २०२०/२१ मा छ सय १८ जना र सन् २०२१/२२ मा छ सय छ जनाले विभिन्न कारणले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा गएका युवाहरू फर्किएपछि स्वदेशमा पनि ज्यान गुमाएका छन्, जसको संख्या भने ज्यादै न्यून छ । वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक परामर्श, मनोपरामर्श, तालिम, स्वास्थ्य चेकजाँच नहुँदा यस्ता भयावह समस्या देखिएको सरोकारवालाहरू बताउँछन् । मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई अभिमुखीकरण तालिम दिने भए पनि त्यसको कार्यान्वयन फितलो हुँदा अदक्ष, अनपढ, आर्थिक अवस्था नाजुक रहेका युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । जसले गर्दा समस्या घट्न सकेको छैन । हालका श्रममन्त्री शरतसिंह भण्डारले पनि वैदेशिक रोजगारीमा रहेका समस्याहरू अर्थात् विभिन्न रोगका कारण हुने मृत्युदर रोक्नका लागि कुनै ठोस योजना अघि सारेका छैनन् ।