काठमाडौं । विभिन्न जिल्लामा गरि चार व्यक्ति मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बझाङ र सुनसरीमा एक–एक जना युवा र झापा र उदरपुरमा एक–एक जना वृद्ध गरि चार व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । बझाङ, बुंगल नगरपालिका–४ पिपलकोट बस्ने २१ वर्षीय मनोज भुल सोही ठाउँस्थित हापेखोला बस्ने हर्क सिंहको पसलको अगाडि मंगलबार मृत अवस्थामा फेला परेका छन् भने सुनसरी, धरान उपमहानगरपालिका–१५ बरगाछीस्थित व्याडमिन्टन खेल्ने खाली ग्राउण्डमा धनकुटा छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजार घर भई हाल धरान बजारमा प्लाष्टिकका बोतल बटुली हिंड्ने ३३ वर्षीय सुशान राई मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, झापा, दमक नगरपालिका–३ स्थित कृपा चर्चमा बस्दै आएका पोखरा घर बताउने ८० वर्षीय राम बहादुर प्रधान आफ्नै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । र, उदयपुर, बेलका नगरपालिका–७ स्थित कोशी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यि सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।