काठमाडौं । निर्वाचन आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सो कुराको जानकारी दिएका हुन् ।
उनले २० जना राष्ट्रिय सभा सदस्यको पद फागुन २१ गते रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए । उनले माघको १०, ११ वा १२ गते भित्रमा आयोगले निर्वाचन गर्नेगरी तयारी गरिरहेको जानकारी दिए । आगामी वैशाख महिनामा रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदहरुमा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उनको भनाइ छ ।