काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा आइतबार बसेको परिषद्को आकस्मिक बैठकले निर्माण व्यवसाय कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । बैठकले गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार म्याग्निच्युडको विनाशकारी भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएको ठूलो मानवीय एवम् भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बैठकले उक्त विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको महासचिव दाहालले बताए ।