काठमाडौं । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका छन् । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।
नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्बन उत्सर्जनको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा राष्ट्रपति यही २२ कात्तिकमा फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर मंसिर १ मा स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।
तर गत शुक्रबार भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्नु परेको थियो । मङ्गलबार बिहान राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको छ ।