काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । चालू आर्थिक वर्षमा सरकारको विभिन्न खर्चका लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले पुनः यसअघि परिपक्व भइसकेको ट्रेजरी बिलको नवीकरणमार्फत उक्त परिमाणमा आन्तरिक ऋण उठाएको हो ।
बैंकका अनुसार सोमबार अपराह्न दुई बजेसम्म बोलकबोलको माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । कुल २१ अर्ब १९ करोड रुपैयाँको ट्रेजरी बिलमध्ये ९१ दिने अवधिको १२ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको नौ अर्ब रुपैयाँ बराबरको रहेको छ । जारी मिति कात्तिक २० गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गरेका थिए । यीमध्ये २८ दिने अवधिको टे«जरी बिलको परिपक्व हुने अवधि २०८० माघ २३ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०८१ वैशाख २५ गते तोकिएको छ ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले कुल २७ अर्ब ६६ करोड रुपैँयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो । यसको लागि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १३ अर्ब र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।