काठमाडौं । बिहीबार काठमाडौँमा भएको ३९ औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन् ।
उनले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको सङ्कट असर, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठुला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्वटेबल रहेको बताए ।
उनले कोभिड–१९ महामारीले बैङ्किङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैङ्किङ क्षेत्रको सहयोग र राष्ट्र बैङ्कको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे ।
उनले राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र सङ्कटबाट बचाउन सकिएको जानकारी दिदैं बैङ्किङ प्रणालीले सबै सङ्कटहरू समाधान गर्दै आएकाले नेपालको बैङ्किङ क्षेत्र सुरक्षित रहेको पनि बताए ।
गभर्नर अधिकारीले यतिबेला विश्व बजारका बैङ्किङ क्षेत्रमा ठुलो चुनौती देखिएको जानकारी दिए । उनले पछिल्लो समयमा मुद्रास्फीति बढिरहेको र विभिन्न मुलुकहरूले महँगीको सामना गरेको बताए । उनले दक्षिण एसियामा वित्तीय पहुँच बढ्दै गएको बताए ।