काठमाडौं । वैदेशिक रोजगारीको लागि युरोपेली देश इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । हाल तार्केश्वर नगरपालिका बस्ने गोरखा पृथ्वीनारायण नगरपालिकाका ३५ वर्षीय राजेश श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रेष्ठले पाँच जनालाई वैदेशिक रोजगारका लागि इस्टोनिया पठाई सुपर मार्केटको स्टोर किपरमा एक लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए । उनले पीडितहरूबाट पटकपटक गरी ३४ लाख १३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।
ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।