कीएभ । युक्रेनको संसद्ले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट विनियोजन विषयमा मतदान भएको थियो । कीएभ र मस्को दुवैले युद्ध सुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन् । उनीहरू दुवैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन् । युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब एक दशमलव सात ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो । यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्तरूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो ।
युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी सहयोगीहरूको आर्थिक सहयोगमा युद्धको समयमा आफ्नो अर्थव्यवस्थालाई जीवित राख्नको लागि धेरै निर्भर बनेको छ । आईएमएफले सन् २०२३ मा आवश्यक पर्ने अनुमान गरेकै हाराहारीमा आगामी वर्ष दैनिक खर्च गर्न ४१ अर्ब अमेरिकी डलर बाह्य सहयोग आवश्यक रहेको बताएको छ ।