दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–३ पात्लेमा कृषि उपज संकलन केन्द्रका लागि भवन निर्माण हुने भएको छ । कालीढुङ्गा कृषि सहकारी संस्था मातहत सञ्चालन हुनेगरी सो केन्द्र निर्माण गर्न लागिएको हो ।
केन्द्रको भवन निर्माणका लागि बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले शिलान्यास गरेका छन् । स्थानीय कृषकको उत्पादनलाई लक्षित गरी संकलन केन्द्र भवन निर्माण गर्न लागिएको उनले बताए । यस्तै, उनले केन्द्र सञ्चालनको जिम्मा लिएको कालीढुङ्गा कृषि सहकारी संस्थाले व्यावसायिक कृषिमा लागेका किसानको पहिचान गरी लगानी गर्नुपर्ने बताए । यस्तै, पालिकाले पनि स्थानीय सहकारीसँग समन्वय गरेर वैदेशिक रोजगार जाने विद्यार्थी बढ्दो संख्यालाई रोकेर पालिकामै रोजगार सिर्जना गर्ने योजना बनाएको बताए ।
त्यस्तै, उनले बैतेश्वर गाउँपालिका व्यावसायिक कृषिको लागि उर्वरभूमि भएकाले पालिकाले पनि कृषिलाई प्राथमिकता दिएर काम गर्ने बताए । सो भवन निर्माणका लागि बागमती प्रदेश सरकारले १५ लाख बजेट विनियोजन गरेको छ । कालीढुङ्गा कृषि सहकारीको कुल पुँजी एक करोड ५२ लाख ९३ हजार सात सय २७ रुपैयाँ रहेको छ । यस संस्थाको सेयर पुँजी १४ लाख ८१ हजार चार सय पुगेको छ भने जगेडा कोष नौ लाख ४५ हजार सात सय र ऋण सुरक्षण कोष दुई लाख ३५ हजार रुपैयाँ रहेको छ ।