काठमाडौँ । पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।
नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।
मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने जानकारी दिइयो । उनीहरु चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् ।
प्रतियोगितामा नेपाल र चीनका १०/१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले जानकारी दिए ।
प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन ।
फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि पाँच÷पाँच किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ ।
यस प्रतियोगिताका प्रथम हुने टोलीले रु. तीन लाख ३० हजार, दोस्रो हुनेले रु. दुई लाख ८८ हजार, तेस्रो हुनेले रु. दुई लाख १६ हजार, चौथो हुनेले रु. एक लाख ४४ हजार र पाँचौ हुनेले रु. ९० हजार पुरस्कार पाउनेछन् ।