काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको फर्दर पब्लिक अफिर्यस (एफपीओ) को बिक्री कार्य मंसिर आठ गते अर्थात् शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको एफपीओ आज शुक्रबार बिहान बाँडफाँट हुन लागेको हो ।
संस्थाले कात्तिक २१ गतेदेखि कात्तिक २४ गतेसम्म सर्वसाधारणमा एफपीओ बिक्री गरेको थियो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । संस्थाले एक करोड ७८ लाख ४५ हजार एक सय १८ रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका एक लाख ७८ हजार चार सय ५१ कित्ता सेयर निष्काशन गरेको थियो । हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार छ सय १८ रुपैयाँ २९ पैसा रहेको संस्थाको एफपीओको बिक्रीपश्चात् चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैयाँ ३२ पैसा पुग्नेछ ।