भक्तपुर । नगरपालिका–१ देखि ६ नं वडासम्म मेलम्चीको खानेपानी सूर्यविनायक नगरपालिकाको घरघरमा पुर्याउने अभियान सुरु भएको छ । नगरपालिकाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य किरण थापा र नगरप्रमुख वासुदेव थापाले घरघरमा मेलम्चीको खानेपानी पु-याउन संयुक्त रुपमा सूर्यविनायक बृहत् खानेपानी आयोजना शिलान्यास गरेका हुन् ।
वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका सूर्यविनायक नगरपालिका–१, २, ३, ४, ५ र ६ का बासिन्दाको घरघरमा मेलम्चीको पानी पु-याउने अभियानअन्तर्गत शुक्रबार आयोजना सुरु गरिएको बागमती प्रदेशसभा सदस्य थापाले बताए । उनले भने, ‘सूर्यविनायक बृहत् खानेपानी ओजनाका लागि बागमती प्रदेश सरकारले रु. ९५ लाखको बजेट विनियोजन गरेको छ, यस नगरपालिकाभित्र खानेपानीे अभाव भएका क्षेत्रमा समेत खानेपानी पु¥याउन प्रदेश सरकारमार्फत काम अघि बढेको छ ।”
नगरपालिका क्षेत्रभित्र खानेपानी समस्या पूर्ण रुपमा समाधान गर्दै एक वर्षभित्र ती वडामा र तीन वर्षभित्र सबै वडाका घरघरमा खानेपानी पु¥याइने नगरप्रमुख थापाले बताए ।
यस नगरपालिकाभित्र पानी ट्याङ्की निर्माण गरेर अन्य नगरपालिकामा खानेपानी वितरण गर्दै आएको नगरप्रमुख थापाले मेलम्ची खानेपानी आयोजनासँग आफूहरुले पटक पटक बसेर छलफल गरी यहाँका खानेपानी अभाव रहेको छवटा वडामा मेलम्चीको पानी वितरण गर्ने गरी योजना पार्न सफल भएको बताए ।
मेलम्ची खानेपानी विस्तारका लागि पाइपलाइनको व्यवस्थापनदेखि अन्य स्रोतबाट पनि पानीको मूल पहिचान गर्दै स्थानीयवासीलाई पानीको व्यवस्था गर्न नगरपालिका लागिरहेको नगरउपप्रमुख सरिता तिम्सिना भट्टराईले बताइन् ।
नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले भने, “यो आयोजना सम्पन्न गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी रु. आठ करोड चार लाखमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको छ, आयोजना सम्पन्न भएसँगै एक वर्षभित्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानी ट्याङ्कीमार्फत दैनिक २० लाख लिटर पानी वितरण गर्नेछौँ ।”
गुण्डुमा मात्रै नगरपालिकाको ६० र स्थानीयवासीको ४० प्रतिशतको लागत साझेदारीमा दस लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माणको क्रममा रहेको छ । सुवर्णेश्वर, घट्टेखोला, सिकारीटार, दक्षिण बाराही वन, बालकोट, सिरुटार स्वास्थ्य चौकी, बालकोट स्वास्थ्य चौकी, पाण्डुबजारमा रहेका पानी ट्याङ्कीमार्फत ती छ वटै वडामा पानी पु¥याउन दस दशमलव चार किलोमिटर लामो पाइपलाइन विस्तार गरिसकेको बताउँदै उनले स्थानीयस्तरमा रहेको खानेपानी उपभोक्ता समितिको रेखदेखमा रहने गरी पानी वितरण गरिने उल्लेख गरे ।