झापा । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु. दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको जनाएको छ ।
कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् ।
पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा रु. एक अर्ब २० करोड ८० लाख मूल्य बराबरको एक हजार पाँच सय १० मेट्रिक टन अलैँची भारत निर्यात भएको थियो । औषधि र मसालाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ ।
आव २०८०/८१ को त्रैमासिक अवधिमा रु. २२ करोड ९५ लाख चार हजार मूल्य बराबरको एक हजार सात सय ९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पु-याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ ।
नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ । अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिने । हुँदा नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ । चालू आवको त्रैमासिक अवधिमा रु. २९ करोड ४० हजार मूल्य बराबरको दुई हजार चार सय १७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको थियो ।