काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युटुयुव च्यानलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिलेको संविधानमा पनि हिन्दु राष्ट्रकै जस्तो झल्को रहेको बताएका छन् । अध्यक्ष यादवले अहिलेको संविधान हिन्दु राष्ट्रकै संविधानजस्तो रहेकाले हिन्दु राष्ट्रका लागि टाउको दुखाइको विषय नरहेको बताए ।
उनले अहिलेको संविधान र पहिलाको संविधानमा खासै फरक नदेखिएको प्रस्ट पारेका छन् । सनातन हिन्दु धर्मलाई मान्यता दिएको कारण अहिलेको संविधान पनि हिन्दु राष्ट्रको संविधान रहेको उनको भनाइ छ । अहिले जनतामा देखिएको आक्रोश संघीयता र लोकतन्त्रको विरुद्धमा नभएर राजनीतिक दल, नेता र राज्य संयन्त्र विरुद्ध रहेको अध्यक्ष यादवले बताएका छन् ।
अध्यक्ष यादवले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुँदा जनतामा आक्रोश देखिएको बताउँदै उनले आर्थिक परिवर्तन गर्नुको सट्टा कांग्रेस, कम्युनिस्टका नेताहरु भागबण्डा र लेनदेनको राजनीतिमा लागेको आरोप लगाए ।
विगत ३४ वर्षदेखि यही कांग्रेस र कम्युनिस्टले देशमा शासन गरे तर मुलुकलाई सम्हाल्न सकेनन् भन्दै उनले जनतामा परीक्षण भइसकेका दलहरुबाट यो देश उभो नलाग्ने ठोकुवा गरे । राजनीतिक दलका नेताको असफलताका कारण जनता आक्रोशित भएको बताउँदै उनले सो आक्रोशले नयाँ क्रान्ति खोजिरहेको बताए ।
कांग्रेस र कम्युनिस्ट पार्टीले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न नचाहेको उनको आरोप छ । संघीयतालाई सञ्चालन गर्न आवश्यक कानुन बनाउने र संविधानलाई सच्याउनुपर्ने भन्दै उनले यसबाट जनतामा आक्रोश कम हुने बताए ।